नेदरल्याण्ड्स समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा, कतार जितविहीन


सुर्खेत । आयोजक कतारको पहिलो विश्वकप सहभागितालाई बिर्सनलायक बनाउँदै नेदरल्याण्ड्स फिफा विश्वकप २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ए अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा नेदरल्याण्ड्सले कतारलाई २–० ले पराजित गर्‍यो ।

दुई जित र एक बराबरीबाट ७ अंक जोड्दै नेदरल्याण्ड्स समूह विजेता बनेको छ । नेदरल्याण्ड्सलाई समूह चरणमा दोस्रो जित दिलाउन कोडी गाक्पो र फ्रेन्की डे जोङले गोल गरे ।

नेदरल्याण्ड्सले पहिलो खेलमा सेनेगललाई पराजित गरेको थियो भने दोस्रो खेल इक्वेडरसँग बराबरी खेलेको थियो । आयोजककै हैसियतमा विश्वकपमा डेब्यु गरेको कतारले भने समूह चरणको तीनवटै खेलमा पराजित भयो ।

यसअघि नै लगातार दुई खेल हारेपछि समूह चरणबाट बाहिरिसकेको कतारको अन्तिम खेललाई सुखद बनाउने चाहना पूरा हुन सकेन । कतार विश्वकपमा समूहको सबै तीन खेल हार्ने पहिलो आयोजकसमेत बनेको छ ।

समूह ए को विजेता नेदरल्याण्ड्सले अब अन्तिम १६ मा समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी अन्तर्गत आज मध्यराति इंग्ल्याण्ड र वेल्स तथा इरान र अमेरिकाबीच खेल हुनेछ ।