एमालेले  सङ्गठन सुदृढीकरण गर्न ‘मिसन ग्रासरुट’अभियान चलाउने


सुर्खेत । नेकपा एमालेले सङ्गठनात्मक सुदृढीकरणका लागि दुई महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको वैचारिक र सङ्गठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मिसन ग्रासरुट नाम दिइएको अभियान देशभर फागुन र चैत महिनाभर चल्ने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । उनले पार्टीलाई वैचारिक र सङ्गठनात्मकरूपमा जगैदेखि बलियो बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए ।

अभियानका क्रममा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्यलाई पालिकामा खटाइने तयारी एमालेको छ । केन्द्रीय सदस्यहरूलाई पार्टी सदस्यको सदस्यता नवीकरण गर्ने, प्रशिक्षण गर्ने, जनप्रतिनिधि र पार्टी कमिटीका सम्बन्ध सुव्यवस्थित गर्ने, पार्टी र समाजमा विशेष योगदान गरेका व्यक्तिलाई सम्मान गर्ने, राय सुझाव लिने लगायतका ११ वटा काम दिएर खटाइने भएको हो । अभियान फागुन ५ गतेदेखि औपचारिकरूपमा सुरु हुने ज्ञवालीले बताए ।