स्वत्रन्त्र उम्मेदवार चक्रलाल सुनार भन्छन् : दलित समुदायको मुक्तिको लागि मैले जित्नुपर्छ

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कर्णालीमा पनि स्वतन्त्र उम्मेदवारी दिने आँट धेरै युवाहरुले गरेका छन् । जसमध्ये दैलेख निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् चक्रलाल सुनारले ।

नेकपा माओवादीका केन्द्रिय सदस्यसमेत रहेका सुनारले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

२०४९ मजदुर किसान पार्टीबाट संगठित राजनीति सुरु गरेका सुनार २०५४ मा एमाले निकट विद्यार्थी संगठन अनेरास्वबियु जिल्ला कमिटी सदस्य हुँदै २०५६ मा माओवादीको संगठित सदस्यता लिएका थिए ।

नेपाल दलित मुक्ति मोर्चाका दैलेख, जाजरकोट कमाण्ड इन्चार्जसमेत रहेका सुनार २०५७ बाट माओवादीमा भूमिगत भएका थिए । हाल उनी  दुल्लू नगरपालिकाको नगर इन्चार्जसमेत हुन् ।

प्रदेशभर करिब २९ प्रतिशत दलित समुदायको प्रतिनिधित्व भएको कर्णालीमा करिब राजनितिक दलहरुले करिब शुन्यजस्तै दलित समुदायको प्रतिनिधित्व गराएको र दलित समुदायबाटै योग्य नेता नजन्मिए यो समुदायका लागि कसैले पनि काम नगर्ने उनको बुझाई छ ।

उनले दलित समुदायको मुक्तिका लागि आफ्नो उम्मेदवारी रहेको बताउँदै आएका छन् । दलित समुदाय, महिला, पिछडिएका क्षेत्रका नागरिकहरुको हकहितका लागि काम गर्न सक्ने योग्य उम्मेदवार आफू रहेको उनको दावी छ ।

शिक्षा, स्वास्थ्य, कृषि, सडक, विजुली जस्ता पूर्वाधार विकास तथा सामाजिक विभेदको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको सुनारको भनाई छ ।

अब कर्णालीका सबै दलित समुदाय विशेषगरी दैलेखीहरु जाग्नुपर्ने बेला भएको उनी बताउँछन् । ‘जसको सवाल उसकै नेतृत्व हुनुपर्छ, उनी भन्छन् ”हामी दलित समुदायको सवाल न हिँजो कसैले उठायो नत भोली कसैले उठाउनेछ । हामी आँफै नेतृत्वमा आउन जरुरी छ ।“