जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा शाही निर्वाचित

दैलेख । जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा काँग्रेसका बागी उम्मेदवार नमराज शाहीले जितेका छन् । ११ पालिकाका प्रमुख–उपप्रमुख गरी २२ जना मतदाता मध्ये १३ मत पाएर शाहीले जितेका हुन् । काँग्रेसका उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले ९ मत ल्याएकी छन् ।
सत्ता गठबन्धनका काँगेसका ९, माओवादी केन्द्रका २ र एकीकृत समाजवादीका १ समेत १२ मतदाता रहेकामा काँग्रेसका असन्तुष्ट ३ जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाहीले जितेका हुन् । एमालेका १० र काँग्रेसका असन्तुष्टले ३ मत थपेपछि परिणाम उल्टिएको हो ।

काँग्रेसबाट असन्तुष्ट ३ जनाको मत थपिएपछि एमालेको तर्फबाट जिसस उपप्रमुखका उम्मेदवार केशवबहादुर शाही र एक जना काँग्रेसकै स्वतन्त्र उम्मेदवार खुला सदस्य दिलबहादुर शाहीले पनि जितेका छन् । बाँकी दुई सदस्य, तीन महिला र एक जना दलित समेत ६ जना सदस्य गठबन्धन पक्षले जितेको छ ।

ती छ सदस्यहरुमा तीन जना महिला एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकिला कुमारी खड्का, पूर्णा बिक, माओवादी केन्द्रका दुई जना सदस्यमा खुला तर्फ सदस्य फत्तबहादुर डाँगी, दलित महिला तुल्छा बिक र काँग्रेसका खुला सदस्य अङ्गबहादुर शाही रहेका छन् ।

काँग्रेसबाट आठबीस नपा–७ को वडा सदस्य निर्वाचित पार्टीका जिल्ला उपसभापति नमराज शाहीले दिएको स्वतन्त्र उम्मेदवारी खारेजीको लागि निर्वाचन आयोगमा उजुरी परेको भए पनि आयोगले पछि निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यक्रम अनुसार विहीवार निर्वाचन भएको हो ।