बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न गठबन्धन बैठक आह्वान

काठमाडौं । बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको छ । गठबन्धनमा सिट बाँडफाँट गर्न गठित कार्यदलका सदस्यसहित गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो । मंगलबार दिउँसो २ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।

‘बागी उम्मेदवार र जसपाका मन्त्रीबारे छलफल हुन्छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘गठबन्धनमा रहेर कार्यगत एकता अन्त गरेपछि स्वभाविक रुपमा प्रश्न उठेको छ,यसमा छलफल हुन्छ ।’

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ । सत्तामा बसेर विपक्षीसँग चुनावी तालमेल गरेपछि जसपाको कार्यशैलीलाई लिएर गठबन्धनभित्रै प्रश्न उठ्न पुगेको छ । यस्तै सहमति विपरित सत्ता गठबन्धन भित्रैबाट कतिपय स्थानमा बागी उम्मेदवारीहरु परेकाले त्यसबारे समेत गठबन्धनले छलफल गरेर उम्मेदवारी फिर्ता गर्न लगाउने भएको छ ।