सल्यानका ३ झोलुङ्गे पुल अलपत्र

सल्यान । सल्यानमा निमार्णाधीन तीन झोलुङ्गे पुल अलपत्र छन्। इस्टमेटभन्दा झन्डै २ गुणा फलामजन्य सामाग्रीको मूल्य बढेसँगै तीन झोलुङ्गे पुल निर्माण हुँदाहुँदै रोकिएका हुन्।

जिल्लाको कुमाख गाउँपालिकास्थित जिमालीखोला, मर्म खोला र शारदा नगरपालिका-१५ स्थित शारदा नदीमा निर्माण भइरहेको पुल अलपत्र परेका हुन्। गत आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न हुनुपर्ने भए पनि निर्माण सामाग्री नआउँदा अलपत्र परेको स्थानीयको भनाई छ।

झन्डै १ करोड रूपैयाँ लागतमा तीनवटा झोलुङ्गे पुल निर्माण थालिएको थियो। समयमै पुल निर्माण नहुँदा स्थानीय जोखिम मोलेर वारपार गर्न बाध्य भएका छन्।

थापाचौर झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष शम्भु शर्माले सम्बन्धित निकायले समयमै निर्माण सामाग्री उपलब्ध गराउन नसक्दा काम रोकिएको बताए। सामाग्री आएमा १/२ महिनामा काम सम्पन्न हुने उनको भनाई छ।

कुमाख गाउँपालिकाका इन्जिनियर विश्वनाथ योगीले सुर्खेतको न्यु भेरी कम्पन्नसँग गरेको सम्झौताअनुसार समयमै फलामका सामाग्री नआउँदा र भएको कामको गुणस्तर परीक्षण नहुँदा पुल निर्माणमा ढिलाई भएको उनको भनाई छ।

निर्माण कम्पनीले भने पुल निर्माणका लागि सम्झौता भएको समयभन्दा अहिले झन्डै फलामजन्य सामाग्रीको दुई गुणाभन्दा बढी बजार मूल्य बढ्दा समस्या भएको बताएको छ।