सुर्खेत । निर्वाचन आयोगले निर्वाचन पर्यवेक्षकका रूपमा सहभागी हुँदा राजनीतिक दल वा उमेदवारको समर्थन गर्न नहुने बताएको छ । उमेदवारको समर्थन वा विरोध हुने गरी पर्यवेक्षकले निर्वाचन चिह्न अंकित ब्याज लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार वा प्रदर्शन गर्न नहुने आयोगले जनाएको छ ।
आयोगले सूचना जारी गर्दै निर्वाचन अधिकृतबाट अन्तिम परिणाम घोषणा गर्नुअघि पर्यवेक्षकले उमेदवार विजयी भएको सूचना सम्प्रेषण गर्न वा गराउन नहुने स्पष्ट पारेको छ । राजनीतिक दल, उमेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने स्पष्ट पारेको छ ।
सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न नहुने, निर्वाचनलाई प्रभावित पार्ने कुनै सूचना प्रवाह गर्न वा वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न नहुने आयोगले जनाएको छ ।
फरकबाटो १८ आश्विन २०७९, मंगलवार ०९:४४