टी–२० अन्तर्राष्ट्रियमा तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

सुर्खेत । नेपाली क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औं ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे ।

अर्धक शतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ बलमा ५ चौका र २ छक्कासहित ५९ रनको पारी खेले । विराज पटेलको बलमा लामो शट खेल्ने क्रममा उनी बाउण्ड्रीमा क्याचआउट भएका हुन् ।

६ महिनापछि राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्रले यसअघि सन् २०१९ को डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत भुटानविरुद्ध १०७ रनको शतकीय पारी खेलेका थिए ।

त्यसयता १७ इनिङ्समा उनले अर्धशतक बनाउन सकेका थिएनन् । सोही वर्षको जुलाइमा ज्ञानेन्द्रले टी–२० विश्वकप एसिया रिजन फाइनलमा मलेसियासँग ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

केन्यासँग पाँच टी–२० अन्तर्राष्ट्रिय श्रृङ्खलामा दुवै टिमले २–२ खेल जितेका छन् । पाँचौं तथा अन्तिम खेल अहिले भइरहेको छ ।