यातायात व्यवस्था कार्यालय सुर्खेतमा सेवाग्राहीलाई सास्ती

सेवाग्राही झ्याल बाहिर, एजेण्ट कर्मचारीको कार्यकक्षमा

सुर्खेत । वीरेन्द्रनगर २ का २१ वर्षीय युवा (नाम ठेगाना परिवर्तन) मोटरसाइकलको राजश्व बुझाउन बुधबार यातायात व्यवस्था कार्यालय सुर्खेतमा पुगे । बिहान साढे ११ बजे कार्यालय पु्गेका उनले मोटरसाइकलको बिमाको रकम बुझाएर नविकरणका लागि निवेदन लेखे ।

मोटरसाइकलको राजश्व बुझाउनका लागि उनी कार्यालयमै रहेको बैंकमा करिब १ घण्टा लाइन लागे तर उनको पालो आएन । बरु एजेण्टहरुले दशौंपटक राजश्व बुझाएको रसिद लिन भ्याए ।

उनले त्यो कुरालाई खासै वास्ता गरेनन् । करिब डेढ घण्टापछि उनले रसिद लिएर बिल काट्न गए तर त्यहाँपनि उनलाई दुईघण्टा झ्याल बाहिरै कुराइयो । कार्यालयमा झ्यालबाहिर सेवाग्राहीहरु कुरिरहेको र एजेण्टहरु भने कर्मचारीको आडैमा बसेर सेवा लिएको दृश्य उनले देखे तर पनि उनी पालो आउने आशामा बसे ।

दुईघण्टासम्म पनि पालो नआएपछि उनले आफ्नो काम गरिदिन आग्रह गरे तर कर्मचारीले भित्र पहिलेकै फाइल धेरै भएको भन्दै उनलाई टार्दै गए ।

लाइन लागेको तिनघण्टा बित्नै लाग्दा कर्मचारीले अब ४ बज्न लाग्यो है तपाईको पालो भोली भनेपछि उनले कर्मचारीसंग प्रश्न गरे सर तपाईले हाम्रो पनि काम गरिदिनु न एउटै मान्छेले दशौंपटक फाइल लिएर आउँदा उसको मात्रै किन काम गर्नुभएको छ ? त्यसपछि भने कर्मचारीले एजेण्टका फाइल पछि सारेर सेवाग्राहीको काम गर्न थालेको उनले बताए ।

नजिकै अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय हुँदापनि यातायात व्यवस्था कार्यालय सुर्खेतका कर्मचारीहरुले सेवाग्राहीलाई हैरानी दिएको उनले सुनाए ।

उनी मात्रै होइन, गुराँस गाउँपालिका दैलेखकी एकजना सेवाग्राहीले पनि यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सेवा लिन निकै सास्ती भएको बताईन् । सिधै घुस मागिदैन तर नितिगत रुपमा भ्रष्टाचार भएको आँफुले देखेको उनले सुनाईन् । सेवाग्राहीलाई झ्यालबाहिर कुराएर एजेण्टहरुलाई कार्यकक्षमा जान दिने र एजेण्टहरुले आफ्ना बिसौं फाइलहरु कार्यकक्षमै लगेर दिने गरेको उनले बताईन् ।

झ्याल बाहिर लाइन लागेका सेवाग्राहीहरुको काम गर्न छोडेर कार्यालयका कर्मचारीहरुले पनि पुराना फाइल भन्दै एजेण्टहरुकै काम गरिदिने गरेको गुनासो उनले गरिन् ।

उसो त यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राहीहरुले दुख पाउनु कुनै नौलो कुरा होइन । हरेक वर्षजसो यातायात व्यवस्था कार्यालय, मालपोत जस्ता कार्यालयहरुमा नागरिकहरुले पाउनुसम्मको सास्ती पाउँछन् । तर यसमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । सर्वसाधारणको काम गर्नुभन्दा कर्मचारीहरुले एजेण्टको काम गर्न रुचि गर्छन् ।

यस विषयमा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख आनन्दप्रसाद चपाईले यस्तो कुनैपनि क्रियाकलाप गरेर सर्वसाधारणहरुलाई दुख दिने कर्मचारीहरुलाई कार्रवाही गर्ने बताए । आफ्नो कार्यालयमा यस्तो हर्कत नभएको र भएको खण्डमा कार्रवाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे । कुनै कर्मचारीहरुले सर्वसाधारणहरुलाई दुख दिएको पाइएमा आँफुलाई उजुरी गर्न समेत सर्वसाधारणहरुलाई उनले आग्रह गरे ।