शेरबहादुर देउवासँगै गठबन्धनका नेताहरुलाई कोइराला पक्षको खबरदारी

सुर्खेत । नेपाली कांग्रेस शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवासँगै गठबन्धनका नेताहरुलाई खबरदारी गरेको छ । समानुपातिक पद्धतिको सूचीमा असन्तुष्टि जनाएको यो समूहका नेताहरुले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हार्ने चेतावनी गठबन्धनका नेताहरुलाई दिएको हो ।

शनिबार काठमाडौंमा भएको ‘खबरदारी सभा’मा शेखर समूहका नेता गुरुराज घिमिरेले गुटका नाममा आफ्नो वरिपरिका केही मानिसलाई अवसर दिएर पार्टी दिगो रुपमा नचल्ने बताएका हुन् ।

जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठ्यारो पर्ने उनले बताए ।

पार्टीमा न्यायोचित रुपमा टिकट वितरण भए ४०र६० को गणित आवश्यक नपर्ने उनले सुनाए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथै सत्तारुढ गठबन्धनका नेताहरुको नामै लिएर उनले बालुवाटारमा भागवण्डाको हिसाब मिलाएर मात्र चुनाव जित्न नसकिने तर्क गरे ।

घिमिरेले पार्टीभित्र न्यायोचित अवसरका लागि लड्दा खुट्टा नकमाउन आफ्नो समूहबाट चुनिएका पदाधिकारीहरुलाई आग्रह समेत गरे ।

उनी लगाएत कार्यक्रममा धेरै नेताहरुले बोलेका थिए ।