काठमाण्डौको गोठाटारमा गोली लागेका मोहम्मदको ज्यान गयो

सुर्खेत । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मदको उपचारका क्रममा ज्यान गएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई हिजो बेलुका बन्दुकधारी समूहले गोली हानेको थियो ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएका मोहम्मदको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जानकारी दिएको छ । प्रहरीका अनुसार गोली हान्ने व्यक्तिको खोजी भइरहेको छ । गोठाटारमा रहेको व्यस्त सडकमा बा ६ च ५१५२ नम्बरको कारबाट निस्किएका मोहम्मदमाथि पल्सर मोटरसाइकलमा आएका एक युवकले गोली प्रहार गरेका थिए ।

घटनापछि प्रहरीले घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा अवस्था कडा बनाएको थियो  । आक्रमणकारी भाग्न सक्ने सबै नाकामा प्रहरीले सुरक्षाकर्मी परिचालन गरेको छ । केही वर्षअघि नक्कली भारुको कारोबारमा संलग्न भएको अभियोगमा जेल परेका मोहम्मद केही वर्षपछि छुटेका थिए ।

प्रहरीका अनुसार जेलबाट छुटेपछि मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरेका थिए ।