समूह चरणको अन्तिम २ खेल आज, नेपालले कतारसँग खेल्दै

सुर्खेत । काठमाडौंमा भइरहेको एसीसी प्रिमियर कपमा समूह चरणका अन्तिम दुई खेल आज हुँदैछ । जसमा समूह ए मा रहेको घरेलु टोली नेपालले कतारसँग खेल्नेछ भने समूह बी मा हङकङ र कुवेतबीच खेल हुनेछ ।

यस खेलपछि सेमिफाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो पनि लाग्नेछ भने समूह विजेता र उपविजेता पनि छिनोफानो हुनेछ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् भने समूह बी बाट यूएईले पनि अन्तिम चारमा स्थान बनाइसकेको छ । सेमिफाइनल पुगिसकेका तीनवटै टिम ओडीआई मान्यता प्राप्त टोली हुन् ।

आगामी सेप्टेम्बरमा हुने एसिया कपको छनोटको रुपमा समेत रहेको यस प्रतियोगिताको विजेता एसिया कप खेल्नेछ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपालले समूह ए को विजेता बन्न कतारलाई पराजित गर्नुपर्नेछ । यसअघि दुई खेलमा जित निकालेको नेपालले साउदी अरेबियासँगको खेलमा वर्षाका कारण अंक बाँडेको थियो । नेपाल हाल तीन खेलबाट ५ अंकसहित दोस्रो स्थानमा छ । तीन जीत र एक हारबाट ६ अंक जोडेको ओमान समूह ए को शीर्ष स्थानमा छ ।

यस्तै समूह बी मा ४ खेल खेलिसकेको यूएई तीन जीत र एक हारबाट ६ अंकसहित शीर्ष स्थानमा छ । यस समूहमा आज हुने हङकङ र कुवेतबीचको खेलको विजेता सेमिफाइनल पुग्नेछ । हङकङ तीन खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ । दुई खेल जितेर चार अंक जोडेको कुवेत तेस्रो स्थानमा छ