सेवा प्रदायकलाई क्षमता अभिवृद्धि तालिम

सुर्खेत । लैङ्गिक र युवामैत्री सेवाका लागि सेवा प्रदायकहरुलाई तीन दिने क्षमता अभिबृद्धि तालिम दैलेखमा आजदेखि सुरु भएको छ । युरोपियन युनियन र अक्सफामको सहयोगमा सञ्चालित युथ लिड जेशी परियोजना अन्र्तगत सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले तालिम आयोजना गरेको हो ।

तीनदिन सम्म चल्ने तालिममा भगवतीमाई गाउँपालिका र डुङ्गेश्वर गाउँपालिका बाट पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, बिभिन्न शाखाका प्रमुखहरु, प्रहरी, अदालत, ओसीएमसीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

तालिममा सेवा प्रदायक र स्थानिय तहको शासन पद्धति, स्थानिय तहमा सेवा प्रदायक संग जोडिएका मुख्य आयामहरुको परिदृश्य, सवालहरुको पहिचान र पैरवी, सामाजिक शसक्तिकरणमा सेवा प्रदायहकहरुको भुमिका, लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरण योजना तर्जुमा प्रक्रिया, लैङ्गिक उत्तरदायी बजेटका बिषयमा छलफल हुने कार्यक्रम संयोजक यामकुमारी लामिछानेले बताइन् ।

तालिममा सहभागिहरुलाई स्वागत गर्दै सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामकी अध्यक्ष देबी पौडेलले अहिलेको समयमा यो क्षमता अभिबृद्धि तालिम प्रभावकारी रहेको बताइन् । स्थानिय सरकारले योजना तर्जुमा गर्दा लैङ्गिक समानता तथा सामाजिक समाबेशीकरणमा ध्यान दिन नसकेको अबस्थामा तालिमले यस बिषयमा सेवा प्रदायकलाई झकझक्याउन मद्दत गर्नेमा उनको जोड थियो ।

लैङ्गिक र युवामैत्री सेवा बिस्तारका लागि पुलिस, अदालत, सुरक्षित गृह, मनोसामाजिक परामर्शदाताजस्ता सेवा प्रदायकहरु र स्थानीय सरकारको क्षमता अभिबृद्धि गर्ने र स्थानीय तहमा लैंगिक र युवा मैत्री सेवा सुरु गर्न सहयोग र पहल गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा ललित जंग शाहीले सहजिकरण गरिरहेका छन् ।