मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा १४ जनाको सजाय माफी


सुर्खेत । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्कर गौतमसहित १४ जनालाई सजाय माफी गरिदिएकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा १४ जनाको सजाय माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को मिति २०७९/११/०४ को बैठकको सिफारिसका आधारमा पुष्कर गौतम समेतका १४ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवस, २०७९ को उपलक्ष्यमा माफी भएको छ,’ राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गौतम ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भई गत माघमा सर्वोच्च अदालतबाट जन्मकैदको फैसला भएका व्यक्ति हुन् । तत्कालीन विद्रोही माओवादीले २०५५ असारमा श्रेष्ठको गोली हानेर हत्या गरेका थिए । उक्त प्रकरणमा बालकृष्ण ढुंगेल पनि जोडिएका थिए ।

संविधानको धारा २७६ मा रास्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानुन बमोजिम माफी, मूल्तवी, परिवर्तन वा कम गर्न सक्ने प्रावधान छ ।