सुर्खेत । पञ्चपुरी नगरपालिका ३ का अभिभावक विहिन दुई बालबालिकाको पठनपाठनका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेकले पञ्चपुरी नगरपालिका लगाएत सरोकारवालासँग पहल गरेको छ ।
आमालाई हत्या गरि बाबु जेलमा गएपछि अभिभावक बिहीन भएका ११ वर्षीय बालक र आठ वर्षीया बालिकाको नियमित पठनपाठनका लागि इन्सेकले पहल गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिए ।
जोखिममा रहेका बालबालिकाको लागि संरक्षणका लागि आयोजित बैठकमा बोल्दै पञ्चपुरी नगरपालिकका प्रमुख लालवीर भण्डारीले कार्यविधि बनाएर जोखिमपूर्ण बालबालिकाकाको उचित संरक्षण र स्याहारको योजना ल्याउन लागिएको बताए । बालबालिकाको उचित पठनपाठनका लागि एसओएस, कोपिला भ्याली लगायतका निकायमा आवश्यक पहल गर्ने पञ्चपुरी नपाका उपमेयर मुक्तिदेवि रेग्मीले आश्वासन दिएकी छन् ।
बाबु आमा नभएका दुबै जना बालबालिका हाल ७८ वर्षीय हजुर आमा भविसरा आलेको भरमा रहेका छन् ।
इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदी, इन्सेकका फोकल पर्सन दुर्गा थापा, मानव अधिकार रक्षक सञ्जालका प्रदेश संयोजक पीताम्बर ढकाल, नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतका अध्यक्ष ललित बसेल, नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सचिव ललितबहादुर बुढा, प्रदेश स्तरीय मानव अधिकार समुहका संयोजक पदम सार्कीसहितको टोलीले बालबालिकाको शिक्षा, स्वास्थ्य र आश्रित परिवारको अवस्था लगायतको विषयमा पुस १८ गते स्थलगत अनुगमन गरेको थियो ।
स्थलगत अनुगमन पश्चात अनुगमन टोलीले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतको विषयमा पालिकाका नगरप्रमुख, उपप्रमुख लगायतका टोलीसँग पहल गरेको थियो ।
तोक्माका अमर आले मगरले पत्नी मीना आले मगरलाई ०७९ मङ्सिर २० गते धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।
उनीहरुका दुई जना छोराछोरी रहेका छन् । गाउँ नजिकैको नेपाल राष्ट्रिय प्रावि तोक्मामा छोरा कक्षा ४ मा छोरी कक्षा ३ मा अध्यनरत रहेका छन् । आमा बाबु नभएका दुई दाजु बहिनीको जीवनयापन निकै कष्टकर रहेको छ ।
हजुरआमा भविसराले प्राप्त गर्ने सामाजिक सुरक्षा (वृद्धभत्ता) बाट उनीहरूको पालनपोषण चलेको छ । हजुरआमा भविसरा पनि कान्छा छोरा बुहारीकोमा बस्दै आएकी छन् ।
फरकबाटो २१ फाल्गुन २०७९, आईतवार १२:५९