काठमााडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ।

सिफारिस समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले शनिबारको बैठकले प्रतिवेदनको सम्बन्धमा निर्णय गर्ने बताएका छन्। जबराले आफ्नो बयानको लिखित प्रतिमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि शुक्रबार दिनभर कर्मचारीले बयान पढ्ने र चोलेन्द्रले पानैपिच्छे हस्ताक्षर गर्ने क्रम चलेको थियो।
शनिबार पनि बयानको लिखित प्रतिको बाँकी पृष्टमा जबराले हस्ताक्षर गर्नेछन्। अघिल्लो बैठकमा जबराले ६५ पृष्टमा हस्ताक्षर गरेका थिए। उनको बयान १७४ पृष्टको छ।
प्रवक्ता गौतमले जबराको बयानलाई लिपिबद्ध गर्ने काम आधा सकिएकोले आज नै त्यसलाई अन्तिम रूप दिने बताए। जबराको सम्पत्ति विवरण पनि समितिलाई प्राप्त भएको र समितिका सदस्यले त्यसलाई हेरिरहेको उनको भनाइ छ ।
जबराको सम्पत्ति विवरणको सम्बन्धमा शनिबार प्रतिवेदन लेखनका क्रममा छलफल गर्ने समितिले जनाएको छ।

फरकबाटो १ आश्विन २०७९, शनिबार १०:२९