अन्तरनिर्भरको २४ औँ वार्षीक साधारण सभा सम्पन्न

संस्था मार्फत संचालित परियोजनाबाट करिब चार सय व्यक्ती स्वरोजगार

सुर्खेत । अन्तरनिर्भर समाज सुर्खेतको २४ औँ वार्षीक साधारण सभा सम्पन्न भएको छ । मंगलबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहको प्रमुख आथित्यतामा साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको हो ।

साथै संस्थाको वार्षीक प्रगती प्रतिवेदन अनुसार करिब चारसय नागरिक संस्था मार्फत संचालित परियोजनाबाट स्वरोजगार भएका छन् । युएनडिपीको साझेदारीमा गत एक बर्षमा गुर्भाकोट नगरपालिकामा मात्रै कृषि क्षेत्रमा ३ सय ९० जनालाई स्वरोजगारको बाटोमा लगाएको छ ।

नगरपालिकासँगको समन्वयनमा ३ सय ५० घरधुरीका ३ सय ९० जनालाई कृषि क्षेत्र मार्फत स्वरोजगारको बाटोमा लगाइएको हो ।

विशेष गरेर कोभिड १९ का कारण रोजगारी गुमाएकाहरुको लागि लक्षित गरी २०२२ देखि २०२३ सम्म संचालन गरिएको वातावरणमैत्री दिगो कृषिको माध्यमबाट पुनर्उत्थान परियोजना अन्तरगत ३ सय ९० जनालाई स्वरोजगारको बाटोमा लगाइएको जनाइएको छ ।

संस्थाका सचिव पदम सुनारले प्रस्तुत गरेको प्रतिवेदनमा नगरपालिकाभित्रका ४० जनालाई तरकारी टनेल, ५० जनालाई भकारो निर्माण र सुधार ५० जनाई वायोगग्यास निर्माण, एक सय जनालाई बाख्रापालनका लागि सहयोग, एक सय जनालाई खुल्ला तरकारी र सिंचाई कुलोको लागि सहयोग गरिएको हो । ।

त्यस्तै २५ जनालाई हाइटेक नर्सरी बनाउन सहयोग गरिएको भन्दै यसमा नगरपालिकाले पनि सहयोग गरेको छ, भने यो कार्यक्रम एक बर्षसम्म संचालन गरिएको थियो ।

यसैबिच, अन्तरनिर्भर समाजले जलवायु परिवर्तन न्युनिकरणको लागि विभिन्न समयमा वृक्षारोपन, पछाडी पारिएका वर्ग र समुदायको उत्थानका लागि विभिन्न क्रियाकलाप गर्दै आएको छ भने आगामी दिनमा यस्ता योजनाहरुलाई अझै प्रभावकारी बनाईने जनाइएको छ ।

बार्षिक आय व्यय रकम प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पदमा कुमारी शाहीले अन्तरनिर्भर समाजले गत आर्थिक बर्षमा एक करोड ९४ लाख ८२ हजार दुइ सय २२ रुपैयाँको आम्दानी र एक करोड ८८ लाख १५ हजार ८ सय ८१ रुपैयाँ खर्च गरेको बताईन् ।

कार्यक्रममा बोल्दै अन्तरनिर्भर समाजका अध्यक्ष बल बहादुर बुढाले आगामी दिनमा पछाडी पारिएका वर्ग, समुदायको पक्षमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने बताएका छन् ।

उदघाटन सत्रमा बोल्दै मन्त्री सिंहले कर्णाली योजना बैंक मार्फत विकासका कार्यक्रमहरु अगाडी बढाउने बताएका छन् । साना  योजनाबाट विकासको गति राम्रोसँग अगाडी नबढ्ने भएकोले योजना बैंक मार्फत कार्यक्रमहरु अगाडी सार्ने बताएका हुन् ।