
काठमाण्डौं । नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन हुने भएको छ । पार्टीको १० औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको थियो ।
तर निर्वाचन समितिले मंगलबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारीसँग गरेको छलफलमा तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताएको हो ।
निर्वाचन समितिका सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मंसिर ९ देखि १३ गतेको अवधिमा महाधिवेशन गर्न नसकिने बताए । निर्वाचन समितिले पार्टीले निर्वाचन कार्यतालिकाअनुसार काम नगरेको गुनासो गरेको थियो ।
सभापति देउवाले मंसिरभित्रै महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
निर्वाचन समितिका सदस्य घिमिरेले पार्टीले सहयोग गरेमा मंसिरभित्रै महाधिवेशन गर्न सकिने भन्दै आफूहरुले दुई दिनमा नयाँ कार्यतालिका ल्याउने बताए ।
छलफलका क्रममा वरिठ नेता पौडेलले मंसिर ९ देखि १३ गतेकै मितिमा महाधिवेशन गर्नुपर्ने बताएका थिए । तर निर्वाचन समितिले सो समितिमा महाधिवेशन गर्न नसकिने बताएको छ । कतिपय जिल्लामा वडा अधिवेशन पनि नभएको अवस्थामा अबको एक महिनाको अवधिमा सबै महाधिवेशन गर्न नसकिने निर्वाचन समितिले बताएको छ ।
त्यसपछि पौडेलले महाधिवेशन मंसिरभित्र सम्पन्न गर्ने गरी केन्द्रीय समितिबाट निर्णय गराउन सभापति देउवालाई आग्रह गरेका छन् ।

फरकबाटो ९ कार्तिक २०७८, मंगलवार १८:४०