बुलबुलेमा बढ्दै पर्यटक


सुर्खेत । शनिबार मनकुमारी चौधरी बुलबुले पार्कमा फोटो खिच्दै थिइन् । भेरीगंगा नगरपालिका सुर्खेतकी उनी प्राय जसो नजिकको घुम्न आउने ठाउँ बुलबुले पार्क हो । परिवारसंगै रमाउन सकिने भएको र सुन्दर भएकोले पनि उनलाई बुलबुले पार्क घुम्न मनपर्छ । उनी भन्छिन ‘यहाँ आइसकेपछि छुट्टै खालको आनन्द आउँछ । शान्त वातावरणमा रमाईलो हुने पनि हुन्छ ।”

यस्तै पञ्चपुरी नगरपालिका वडा नं.८ सुर्खेतका बालकृष्ण सुबेदी समेत बुलबुलेको तल्लो ताल नजिकै टिकटक बनाउँदै थिए । उनको प्राय टिकटक बनाउने र साथीहरुसंग रमाइलो गर्ने थलो हो बुलबुले । ‘बुलबुले मेरो लागी टिकटक बनाउने थलो बनिसकेको छ ।’ उनले भने “पछिल्लो समयमा यहाँ बनाएका टिकटक भिडियो धेरै नै भाइरल बनेका छन् । मलाई यो ठाउँ धेरै मनपर्छ ।” आँफु दैनिक जसो टिकटक बनाउन आउने गरेको उनले सुनाए । पहिलाको भन्दा बुलबुलेमा भिडभाड पनि बढि हुने गरेको उनले सुनाए ।

वीरेन्द्रनगर नगरपालिका –२ कोलडाँडा सुर्खेतकी हरिकला चौधरी आफ्ना छोराछोरीसंग बुलबुले ताल भित्रको बगैचामा फोटो खिच्दै थिइन् । उनीलेपनि छोराछोरीलाई घुम्न ल्याउने ठाउँ बुलबुले नै हो । उनले बुलबुले ताल शनिबारको दिन परिवारसँग घुम्न बढी आउने गरेको बताईन् । बजारको कोलाहलबाट आफूलाई फ्रेस बनाउनलाई यहाँ आउने गरेको उनले सुनाईन् ।

पछिल्लो समय बुलबुले ताल घुम्न आउने पर्यटकहरु बढेको पाइन्छ । दुई आर्थिक वर्षमा बुलबुले उत्थानमा ३ लाख ९१ हजार दुई सय ५४ जना पर्यटक भित्रिएकोे सुर्खेत उपत्यका नगर विकास समितिको तथ्याङ्क रहेको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ५० हजार ६ सय जना बुलबुले ताल घुम्न आएका हुन् । उपत्यका नगर विकास समितिले घुम्न आउने पर्यटकबाट रु १५ लाख पाँच हजार ५ सय राजस्व संङ्कलन भएको हो ।

यस्तै आर्थिक वर्ष २०७८/०८९ मा २ लाख ४० हजार ६ सय ५४ जनाले बुलबुले उद्यानको भ्रमण गरेका छन् । जसबाट सुर्खेत उपत्यका नगर विकास समितिले ४७ लाख ८२ हजार ६० रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

दुई आर्थिक वर्षको तुलनामा २०७७/०७८ भन्दा २०७८/०८९ आर्थिक वर्षमा ९० हजार बढी पर्यटकहरु घुम्न आएको तथ्याँकले देखाउँछ ।

सुर्खेत उपत्यका नगर विकास समितिका खरिदार खड्क बहादुर रानाका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कोभिडका कारण बुलबुले चार महिना मात्र खुलेको हुँदा पर्यटकहरु क्म आएका हुन् ।

बुलबुले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको दक्षिणपुर्वी क्षेत्रमा छ । करिब ३१ विघा ८ कट्टा क्षेत्रफलमा फैलिएको बुलबुले ताल पर्यटकको लागी मुख्य पर्यटकीय क्षेत्र बन्दै आएको छ ।

पानीको फोहोराहरु ज्मिनमुनीबाट बुलबुल गरेर आउने भएकोले यस तालको नाम बुलबुले रहन गएको स्थानियको भनाई छ । सुर्खेतका देउती बज्यै, काँक्रेबिहार लगाएत यो ताल पनि प्रशिद्ध पर्यटकिय क्षेत्रमा पर्दछ ।