मन्त्रिपरिषद्को निर्णय : विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

काठमाडौं । सरकारले विश्व बैंकबाट झण्डै ३५ अर्ब रुपैयाँ ऋण लिने निर्णय गरेको छ।

भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २ सय ७५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यो ऋण रकम यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि खर्च हुने जनाइएको छ।

बैठकले महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ।

बैठकले अर्थमन्त्री जनार्दन शर्माको अमेरिका भ्रमण स्वीकृत गरेको छ। वासिङ्टन डिसीमा हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

(यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय)