दार्चुलामा बाढीले घर बगाउँदा एकै परिवारका चार बेपत्ता

काठमाडौं । अविरल वर्षासँगै लास्कु खोला र महाकाली नदीमा आएको बाढीका कारण दार्चुला सदरमुकाम खलंगाको बंगाबगडमा एकै परिवारका चारजना सम्पर्कविहीन भएका छन्।

यी दुई नदीमा आएको बाढीले बंगाबगड क्षेत्रका ११ वटा घर पूर्णरूपमा बगाएको दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।

बाढीले टिंकर सडकमा पर्ने लास्कुखोला माथिको झोलंगे र मोटर पुल बगाएको छ। बाढीका कारण कटान बढ्दै गएको प्रहरीले जनाएको छ।

मानिसहरू सबै रातिदेखि नै घरबाहिर निस्किएका छन्। रोकेर राखिएका केही यातायातका साधनसमेत बगाएको बताइएको छ। प्रहरी निरीक्षक मगरका अनुसार राति २ बजेदेखि नै उद्धार भइरहेको छ।

घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। क्षतिकोविवरण पनि संकलन भइरहेको प्रहरी निरीक्षक मगरले जानकारी दिए। नदीले कटान गर्ने क्रम नरोकिएकोले सतर्क रहन स्थानीयवासीलाई प्रहरीले आग्रह गरेको छ।