विमानस्थलमा थप सुन हुनसक्ने आशंका


सुर्खेत । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर छुटेको सुन बरामद भए पनि थप सुन हुनसक्ने आशंका गरिएको छ।

थप सुन लुकाएर राखेको हुनसक्ने आशंकामा काठमाडौंका विभिन्न ठाउँमा खोजी भइरहेको स्रोतले बतायो। विमानस्थलमा रहेका अन्य सामान पनि चेकजाँच भइरहेको छ।

मंगलबार हङकङबाट क्याथे प्यासिफिकको जहाजमा आएको ब्रेक शुमा लुकाइएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद भएको थियो। ब्रेक शु रेड ट्रेड कम्पनीले मगाएको थियो।

उक्त कम्पनीकै अन्य सामान पनि भन्सार कार्यालयमा भेटिएपछि कार्यालयमै जाँच गर्न थालेको हो।

भन्सार स्रोतका अनुसार १०(११ वटा प्याकेजहरू जाँच भइसकेका छन्। यद्यपि थप सुन फेला परिसकेको छैन। अझै १३ वटा प्याकेज बाँकी छन्। ती सामानको पनि जाँच भइरहेको स्रोत बताउँछ।

‘हामीले १०(११ वटा हेरिसक्यौं। १३ वटा जतिमा हेर्न बाँकी छ। त्यसमा केही टाँसिएको छ भन्ने सूचना छ,’ उनले भने।

त्यससँगै यसमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन्। उनीहरूसँगको सोधपुछ एवं सुराकको आधारमा कार्यालयले थप अपरेसन जारी राखेको हो।

सशस्त्र प्रहरी स्रोतले काठमाडौंका केही ठाउँमा पनि खानतलासी लिएको छ। थप सुन भेटिने आशंकामा अपरेसन चलाइएको हो।

अहिले विमानस्थलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना पनि पुगेका छन्। उनीसँगै भन्सार विभागका कर्मचारीहरू पनि खटिएर सुनको खोजीमा जुटेका छन्।

यता मंगलबार बरामद भएको सुन भने जोख्नका लागि नेपाल राष्ट्र बैंकको टक्सार कार्यालय पुर्‍याइएको छ। आठ वटा पोकामा उक्त सुन राखिएको छ।

यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।

एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्।

बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।

यस घटनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास कसरी भएर निस्कियो भन्नेबारे छानबिन गर्न भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति गठन भएको छ।

समितिले भन्सार अधिकृत लगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो।

साभार : सेतोपाटी