दैलेख र बैतडीका युवाहरुलाई वित्तीय साक्षरता तालिम

सुर्खेत । दैलेख र बैतडीका युवाहरुलाई वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको छ । ६ दिनसम्म चल्ने तालिम शुक्रबारदेखि सुर्खेतमा सुरु भएको हो । युरोपियन युनियन र अक्सफामको सहयोगमा सञ्चालित युथ लिड जेशी परियोजना अन्र्तगत सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामले तालिम आयोजना गरेको हो ।

तालिममा वित्तीय साक्षरता सहजकर्ता र उद्यम बिकास सहजकर्ताहरुको सहभागिता रहेको परियोजना संयोजक याम कुमारी लामिछानेले जानकारी दिइन् । तालिममा वित्तीय साक्षरता, फाइदा, महत्व, बचत अवधारणा, बिप्रेसण, क्रृण योजना, व्यवसायिक योजना लगायतका विषयमा छलफल हुनेछ ।

तालिम पश्चात सहजकर्ताहरुले ग्रामीण क्षेत्रमा बित्तिय साक्षरता कक्षा सञ्चालन गर्नेछन् । युवा, महिला, अपांगता भएका व्यक्ति, आर्थिक रुपमा बिपन्न समुदायका व्यक्तिहरुलाई सहभागि गराएर सहजकर्ताहरुले कक्षा सञ्चालन गर्नेछन् । वित्तिय साक्षरता कक्षा तीन महिनासम्म चल्ने कार्यक्रम संयोजक लामिछानेले जानकारी दिइन् ।

तालिमको उद्घाटन कार्यक्रममा बोल्दै वाम संस्थाकी अध्यक्ष देबी पौडेलले ग्रामीण क्षेत्रमा वित्तिय साक्षरताको शिक्षा प्रभावकारी रहने बताइन् । वित्तिय व्यवस्थापन सही रुपमा गर्न नसक्दा कुनै पनि पेशा व्यवसायमा सफलता हासिल गर्न नसकिने हुँदा वित्तिय साक्षरता शिक्षा प्रभावकारी हुनेमा उनले जोड दिइन् । तालिममा कैलालीका हेमराज भट्टले सहजिकरण गरिरहेका छन् ।