राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित

काठमाण्डौ । राष्ट्रिय सभाले नागरिकतासम्बन्धी विधेयक पारित गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्तुत रूपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

यो विधेयक यसअघि प्रतिनिधि सभाबाट पनि बहुमतले पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएलगत्तै राष्ट्रिय सभामा पेस भएको थियो । राष्ट्रिय सभाले यो विधेयकलाई छलफल गर्नका लागि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा पेस भएको थियो । समितिमा दुई दिन छलफल गरेर यो विधेयक जस्ताको तस्तै पारित भएर बैठकमा पेस भएको थियो ।

अब यो विधेयक फेरि प्रतिनिधि सभामा जान्छ । राष्ट्रिय सभाले विधेयक पारित गरेको सन्देश प्रतिनिधि सभामा सुनाएपछि सभामुखबाट प्रमाणित हुँदै फेरि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्छ । संवैधानिक व्यवस्थाअनुसार पुनः पारित भएर गएको विधेयक फेरि फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन ।