सुर्खेत । कर्णाली प्रदेशमा मानव अधिकारको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्था, सञ्जालहरुले तत्काल स्थानीय तह निर्वाचनको मिति तोक्न ध्यानाकर्षण गराएका छन् ।
मानव अधिकारी एलाइन्स, गैरसरकारी संस्था महासंघ, इन्सेक, महिला मानव अधिकार रक्षक सञ्जाल र उपभोक्ता हित संरक्षण मञ्चले सोमबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।
स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन हुन नदिने गरी निर्वाचनको मिति तोक्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । आवधिक निर्वाचन, मतदानका अधिकार नागरिकका आधारमूत मानव अधिकार हुन भने लोकतान्त्रिक प्रणालीको सुदृढीकरणका जग भएको भन्दै समयमै निर्वाचन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
साथै निर्वाचन ऐन २०७३ बमोजिम २०७८ साल चैत्र ५ गतेभित्र स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने भएकाले जनताका अधिकारहरु कटौती गर्नेगरी ऐन संशोधन गर्नु लोकतान्त्रिक मर्यादा विपरीत हुने पनि बताइएको छ ।
फरकबाटो १७ माघ २०७८, सोमबार १९:५७