मुख्यमन्त्री शाहीद्वारा यातायात कार्यालयको अनुगमन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात ब्यवस्था कार्यालय सुर्खेतको अनुगमन गरेका छन् । अनुगमनका क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिने क्रममा देखिएका समस्या र समाधानको उपायका बारेमा छलफल गरेका थिए ।

मुख्यमन्त्री शाहीसँग सेवाग्राहीहरूले अनुसूचि फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूचि फारम भर्दा १५ रूपैयाँ लाग्ने फारमलाई १०० रूपैयाँ लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाईनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका थिए ।

सेवाग्राहीका गुनासा सुनेपछि मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशत्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

उनले कार्यालय आफैले गर्न सक्ने न्युनतम् कामहरू पनि नभएको भन्दै तत्काल सुधार र सेवाका कामहरूलाई अघि बढाउन निर्देशन दिए । मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका छन् ।

मुख्यमन्त्री शाहीले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अबैध पसलहरू तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको ब्यवस्था मिलाउन पनि निर्देशन दिएका छन् ।

मुख्यमन्त्री शाहीको निर्देशन लगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसलहरू तत्काल हटाउने र टाफिक ब्यवस्थापन मिलाउने प्रक्रिया सुरू गरिएको जनाएको छ ।