सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन(नवौं अधिवेशन) आजदेखि सुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेशसभाको बैठक आव्हान गरिएको छ ।
प्रदेशसभा सचिवालका सचिव जिवराज बुढाथोकीले दिउँसो ३ बजेका लागि बैठक आव्हान गरिएको जानकारी दिए । आजको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट अधिवेशन आव्हान सम्बन्धी पत्र वाचन गरेर सुनाउने, दलीय धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेशहरु पेश हुने कार्य सूचि रहेको उनले जानकारी दिए ।
सचिवालयका अनुसार हालसम्म प्रदेशसभा सचिवालयमा हालसम्म दर्ता भएका ५७ वटा विधेयक छन् । त्यस मध्ये प्रदेशसभाबाट ३६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन् । विषयगत समितिमा चार वटा मध्ये तीन वटा विधेयक छलफल भइ प्रदेश सभा बैठकबाट पारित हुन बाँकी रहेको सचिव बुढाथोकीले जानकारी दिए ।
उनका चार वटा विधेयक यस अघि नै प्रदेशसभा बैठकमा टेबुल भएको र छलफल बाँकी रहेका छन् । पछिल्लो समय प्रदेशसभा दर्ता भएका नौ वटा विधेयक प्रदेशसभा बैठकमा टेबुल हुन बाँकी छ । प्रदेशसभामा दर्ता भएका पाँच वटा विधेयक फिर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
फरकबाटो २८ पुष २०७८, बुधबार ०७:४०