
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा ६७ जना डेङ्गीका बिरामी फेला परेका छन् । श्रावण १ गतेदेखी भदौ २७ गतेसम्म ७ सय ६५ जनामा गरिएको परिक्षणमा ६७ जना डेङ्गीका बिरामी फेला परेका हुन् ।
जसमा सबैभन्दा धेरै सुर्खेत जिल्लाका रहेको कर्णाली प्रदेश अस्पतालका ल्याब इन्चार्ज भरत देवकोटाले जानकारी दिए । उनका अनुसार सुर्खेत जिल्लाका मात्रै ५२ जनामा डेङ्गी फेला परेको हो ।
यस्तै दैलेखका ५, कालिकोटका ६, मुगुका १, जाजरकोटका १, सल्यानका १ र बाजुराका १ जनालाई डेङ्गी देखिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाको हकमा ६ नं वडा, ४,२ र १२ नं वडामा डेङ्गीका बढी बिरामी फेला परेका हुन् ।
उमेरअनुसार १ देखी १५ वर्ष उमेर समुहका ६ जना, १६ देखी ५० वर्ष उमेर समुहका ५० जना र ५० भन्दामाथी उमेर समुहका ११ जनामा डेङ्गी फेला परेको देवकोटाले बताए ।
डेङ्गी के हो ? यो बाट कसरी बच्ने ?
डेङ्गी दिउसोको समयमा बढी सक्रिय हुने पोथी जातको (लेडिज एजेप्टिभ) लामखुट्टेको टोकाइबाट हुने रोग हो । अरुबेला भन्दा अत्याधिक ज्वरो आउने, हातखुट्टाको जोर्नीहरु अत्याधिक दुख्ने, आँखाको गेडी अत्याधिक दुख्ने, रगतको प्लेटलेश कम हुने र कसै–कसैलाई पेट दुख्ने र रातो बिविरा समेत आउँने प्रदेश अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. गौरवराज भण्डारीले जानकारी दिए ।
उनका अनुसार डेङ्गीबाट बच्नलाई झुल लगाएर मात्रै सुत्ने, घरवरीपरि पानी जम्ने खाल्डाखुल्डि नराख्ने, समुदायमा (लेडिज एजेप्टिभ) लामखुट्टेको लार्भा मार्न औषधि छर्कने गर्नुपर्छ ।
डेङ्गीको जटिल बिरामीको प्लेटलेश कम ( रगत जम्ने क्षमता कम हुने, सेता रक्तकोशिकाहरु कम हुने र निरन्तर रक्तश्राप हुने) हुने भएकोले यस्ता बिरामीलाई प्लेटलेश चढाउनुपर्ने उनले बताए ।
कर्णाली प्रदेश अस्पतालमा प्लेटलेश चढाउने सुविधा समेत भएकोले डेङ्गीका बिरामीहरुलाई नआत्तिन र समयमै अस्पताल आई चेकजाँच गराउन उनले सुझाव दिएका छन् ।
अस्पतालका अनुसार हाल डेङ्गीका बिरामी जाँचका लागि २ सय ५० कित रहेको र बिरामी बढ्ने क्रममा रहेकोले यसको अभाव हुन सक्छ ।
समयमै स्थानिय तहहरुले समेत समुदाय स्तरमा (लेडिज एजेप्टिभ) लामखुट्टेको लार्भा मार्न सके डेङ्गी नियन्त्रणमा आउँछ ।
श्रावण महिनादेखी कात्र्तिक महिना सम्म डेङ्गीको संक्रमण फैलिन सक्ने चिकित्कसहरुले बताएका छन् ।

फरकबाटो २८ भाद्र २०७९, मंगलवार १९:४१