१६ महिनापछि पाए महिला क्रिकेट खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार


सुर्खेत । १६ महिनापछि  महिला  क्रिकेट खेलाडीहरुले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका हुन् ।

नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही ५० हजार रुपैयाँ पुरस्कार खेलाडीले १६ महिनापछि शुक्रबार प्राप्त गरेका हुन् ।

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आयोजित एक कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले खेलाडीलाई सम्मान गरेका हुन् । च्याम्पियन टोलीका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजार रुपैयाँका दरले पुरस्कार रकम प्राप्त गरेका छन् ।