श्रम गन्तव्य मुलुकमा प्रहरी सहचारी राख्ने प्रस्ताव

काठमाडौँ । नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राख्ने प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाली श्रमिकको सङ्ख्या धेरै रहेका देश संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसियासहित विभिन्न सात देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरेको जानकारी दिए ।

हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी छन् । त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी रहेको छ । खाडीका तीन मुलुक र मलेसियाबाहेक प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस, बङ्गलादेश र चीनमा सहचारी राख्न प्रस्ताव गरेको उनले जानकारी दिए ।

प्रवक्ता कुँवरका अनुसार ती देशमा रहेका नेपाली श्रमिकलाई सहयोग पु–याउने आपराधिक विषय जोडिएका व्यक्तिलाई स्थानीय प्रहरीको सहकार्यमा पक्राउ गरी स्वदेश ल्याउने उद्देश्यले प्रहरी सहचारी राख्न खोजिएको हो ।

यसैगरी गन्तव्य देशको अपराधीलाई त्यहाँको प्रहरीसँग सहकार्य गरे कारबाही गर्ने र ती देशमा रहेर नेपाली ठग्ने गरेकालाई प्रक्राउ गरी स्वदेश ल्याउनेमा केन्द्रित भएर काम गर्ने उद्देश्य रहेको प्रवक्ता कुँवरले बताए ।