कतार विश्वकपमा २६ खेलाडी राख्न पाईने

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा हरेक टिमले २६ खेलाडी राख्न पाउने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकपमा एक टिममा २६ खेलाडी राख्न दिने निर्णय गरेको छ ।

यस अघि एक टिममा २३ खेलाडी मात्र राख्न पाईने नियम रहेको थियो । तर, कोरोना भाईरसको महामारीपछि फिफाले २६ खेलाडी टिम राख्न अनुमति दिदै आएको छ । यूरोकप २०२० समेत एक टिममा २६ खेलाडी राखिएको थियो ।

​कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुनेछ । कतार विश्वकपको उद्घाटन खेलमा आयोजक र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । नोभेम्बर २१ मा हुने उद्घाटन खेल अल बायत स्टेडियममा हुनेछ ।

विश्वकपमा सहभागिता जनाउने सबै ३२ देशको टुंगो लागिसकेको छ । फिफाले विश्वकप समूह विभाजन ‘ड्र’ यस अघि नै सार्वजनिक गरिसकेको छ ।