चार दिनदेखि अवरुद्ध बाटो खुलाउन गाउँपालिकाको पहल


सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको च्याछहरा भिर नजिकै वर्षाका कारण भत्किएर अवरुद्ध भएको बाटो खुलाउन गाउँपालिकाले पहल थालेको छ ।
चार दिनदेखि अवरुद्ध बाटो खुलाउन आज बिहानैदेखि सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम लामाका अनुसार डोजरको सहयोगमा बाटो खोल्ने काम भइरहेको छ । यसका लागि नाम्खा गाउँपालिकाले आफ्नै डोजर प्रयोग गरेको छ ।

यस्तै ताक्रुखोलामा काठेपुल बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाको भनाइ छ । त्यहाँ हिल्सा–सिमकोट सडकखण्डको मोटरेबल पुलसमेत बन्दै छ ।

वर्षाको समयमा पानीको बहाव बढ्ने भएकाले सवारी आवतजावतका लागि काठेपुल बनाउन लागिएको अध्यक्ष लामाले बताए । बाटो नभएर हुम्लाका अधिकांश बासिन्दा चीनको पुलाङ काउन्टी रोजगारीका लागि जाने गरेका छन् । अहिले आवतजावत रोकिएको छ ।