
सुर्खेत । कर्णाली प्रदेश सभाका ४० जना सांसद मध्ये नेकपा माओबादीका १३ जनाले सभामा प्रतिनिधित्व गर्थे । जसमा कालिकोटका महेन्द्रबहादुर शाही, जाजरकोटका गणेशप्रसाद सिंह र कृष्णा शाह, रुकुमपश्चिमका रातो कामी, गोपाल शर्मा, बिमला केसी, डोल्पाका बिरबहादुर शाही र सुर्खेतका सीताकुमारी नेपाली, बिन्दमान विष्ट , ठम्मर विष्ट र पुष्पा घर्ती, जुम्लाका नरेश भण्डारी तथा दैलेखका धर्मराज रेग्मीले कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गरेका थिए ।
पार्टी परिवर्तन गरेको भन्दै दैलेखका धर्मराज रेग्मीलाई पार्टीले कार्रवाही गरेको थियो भने ठम्मर विष्टले पदबाट राजीनामा दिएका थिए । उनीहरु दुईजना बाहेक बाँकी ११ जनालाई माओबादी केन्द्रले मन्त्री बन्ने अवसर दिएको छ ।
प्रदेश सरकार गठन भएको पहिलो वर्षमा माओबादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्रीमा, बिमला केसी भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री र नरेश भण्डारी आन्तरिक मामीला तथा कानुन मन्त्री तथा पुष्पा घर्तीलाई उपसभामुखमा नियुक्त गरियो ।
बाँकी तिनजना बाहेक उपसभामुख घर्ती अहिले पनि पद सम्हालिरहेकी छन् ।
यस्तै कर्णालीमा सरकारलाई समर्थन गरेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पुन विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक मामीला तथा योजना मन्त्रीमा गोपाल शर्मा, जल तथा उर्जा विकास मन्त्रीमा गणेशप्रसाद सिंह र आन्तरिक मामीला तथा कानुन मन्त्रीमा सीताकुमारी नेपालीलाई शिफारिस गरेको थियो ।
पुन गोपाल शर्मालाई राजीनामा दिन लगाएर उनको ठाउँमा बिन्दमान विष्ट र गैर सांसद कार्चेन लामाको ठाउँमा भर्खरै मात्रै वीरबहादुर शाहीलाई मन्त्री पदमा नियुक्त गरिएको थियो ।
आज सोमबार माओबादी केन्द्रबाट सांसद जितेका र मन्त्री पदमा नियुक्त हुन बाँकी रहेका कृष्णा शाह र रातो कामीलाई समेत मन्त्री पदमा नियुक्त गरिएको छ ।
नेकपा माओबादी केन्द्रबाटै मन्त्री पदमा रहेका गणेशप्रसाद सिंह र बिन्दमान बिष्टलाई राजीनामा दिन लगाएर कृष्णा शाह र रातो कामीलाई मन्त्री पदका लागि शिफारिस गरेको हो ।
यसरी कर्णाली प्रदेश सभामा माओबादी केन्द्रबाट प्रतिनिधित्व गर्ने र सांसद पदमा रहिरहेका सबै सांसदहरुले मन्त्री बन्ने अवसर प्राप्त गरेका हुन् ।

फरकबाटो १३ भाद्र २०७९, सोमबार १९:१६