टि–२० एसिया कप छनोटमा हङकङले कुवेतलाई ८ विकेटले हरायो

टि–२० एसिया कप छनोटमा हङकङले लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ८ विकेटले हराउँदैै हङकङले एसिया कप छनोटमा सम्भावना बलियो बनाएको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै भेट्टायो ।

हङकङका बाबर हायत ५३ रनमा अविजित रहे । कप्तान निजाकत खान ५० रनमा आउट भए । कुवेतका मोहम्मद शफिक र अदनान इद्रिसले एक/एक विकेट लिए । त्यसअघि अलअमिरात मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । कुवेतका एडसन सिल्भाले ५६ रनको अर्धशतकीय पारी खेले । हङकङका अजिज खान, एहसान खान र यासिम मुर्तजाले दुई/दुई विकेट लिए ।

हङकङले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । हङकङले अन्तिम तथा निर्णायक खेलमा आज राती यूएईसँग खेल्नेछ । आजको खेलमा हङकङ विजयी भएमा एसिया कपमा छनोट हुनेछ । पराजित भएमा नेटनरेटका कारण बाहिरिनेछ । समान २ खेलमा ४ अंकका साथ हङकङ शीर्ष स्थानमा र २ अंकका साथ यूएई दोस्रो स्थानमा छ । यूएई पहिलो खेलमा कुवेतसँग एक विकेटले पराजित भएको थियो । यूएईले दोस्रो खेलमा सिंगापुरलाई ४७ रनले हराएको थियो । यूएईमा हुने टि–२० एसिया कप शनिबारदेखि सुरु हुनेछ । समूह ‘ए’ मा भारत, पाकिस्तान र छनोट हुन बाँकी एक टोली रहनेछ भने समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।