आर्मीले दियो कर्णालीलाई ११७ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी क्लबले जितका लागि कर्णाली प्रदेशलाई १ सय १७ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय १६ रन जोड्यो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले २९ रनको योगदान गरे । हरि चौहानले २० रन जोड्दा रोहित पौडेल र कुशल मल्ल समान १० रनमा आउट भए ।
सोमपाल कामी ९ रनमा आउट हुँदा जितेन्द्र मुखिया ८ रनमा अविजित रहे । कर्णालीका प्रकाश जैशीले ३ विकेट लिए । अनुज चुनराले २ तथा दिनेश अधिकारी, रविन्द्र शाही र राज शाहले १/१ विकेट लिए ।

प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आर्मी क्लब, कर्णाली प्रदेश, पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ रहेका छन् । समूह ‘बी’ अन्तर्गत एपीएफ क्लब, प्रदेश नं। २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेका छन् ।

दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।