एपीएफ क्लब प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाण्डाै । सशस्त्र प्रहरीको एपीएफ क्लब प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।

कीर्तिपुर मैदानमा आज बिहीवार भएकाे खेलमा मधेस प्रदेशलाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको हो । मधेसले दिएको एक सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा तीन विकेट गुमाएर भेटायो । एपीएफका लोकेश बमले ३५, प्रदीप ऐरीले ३३ र आशिफ शेखले २५ रन बनाए । मधेसका रुपेश सिंहले दुई र राजेश यादवले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मधेस ३१ ओभरमा एक सय २२ रनमा आलआउट भयाे । उसका लागि रुपेश सिंहले ३६ र सन्तोष कार्कीले २० रन बनाए । एपीएफका कमल ऐरीले चार तथा भुवन कार्की र मौसम ढकालले दुई/दुई विकेट लिए ।

अब एपीएफले उपाधिका लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको विजेतासँग खेल्नेछ । आर्मी र पुलिसले भोलि शुक्रवार दाेस्राे सेमिफाइनल खेल्दैछन् ।