सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ । कपुरकोट गाउँपालिका ५ खारखोला स्थित दाङ सल्यान सडकखण्डको राप्ती राजमार्गमा सल्यान खलंगाबाट दाङ तुलसिपुरतर्फ जाँदै गरेको रा.१ ख. २५५२ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा सल्यानको शारदा नगरपालिका १२ अहिले दाङको तुलसीपुर उपमहानगरपालिका ६ की ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
दाङको बबई गाउँपालिका ४ की ६० वर्षीया डुली रेउले, बबई ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङका पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ ।
बसमा ३७ जना सवार रहेको प्रहरीले अनुमान गरेको छ । घाइतेमध्ये १३ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ भने अन्य सबैको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै ज्यान गएको हो भने बाँकीको उपचारका क्रममा ज्यान गएको हो ।बसका चालक भने फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । बस सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।
फरकबाटो २१ कार्तिक २०७८, आईतवार १९:३७