अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच भेटवार्ता, दुई देश जोड्ने सडक परियोजनाबारे छलफल

सुर्खेत । भारत भ्रमणमा रहका अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ ।

भारतको गुजराजमा रहेको गान्धीनगरमा भइरहेको जी–२० बैठकको क्रममा सोमवार हिजो अर्थमन्त्री महत र चिनियाँ अर्थमन्त्री कुनबीच भेटवार्ता भएको हो । उनीहरु बीचको द्विपक्षीय वार्तामा आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा एकअर्काको चासो र सरोकारप्रति दुवै पक्ष संवेदनशील रहेको बारेमा पनि दुवै मन्त्रीले समान धारणा राखेका अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

सन् २०१९ मा नेपाल भ्रमणका क्रममा चीनका राष्ट्रपतिले गर्नुभएको सहयोग प्रतिबद्धताबारे पनि दुई देशका अर्थमन्त्रीबीच कुराकानी भएको जनाइएको छ । नेपाल भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपालको समग्र आर्थिक विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

मन्त्री डा महतले नेपाल र चीनबीचका महत्त्वपूर्ण सीमानाकाबाट दुई देश जोड्ने सडक परियोजना सहयोगको महत्त्वपूर्ण क्षेत्र हुनसक्ने र दुवै देशका सम्बन्धित निकायले यसबारेमा गृहकार्य गरी छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । सुरुङमार्गको प्रसङ्गमा टोखा–छहरे सुरुङमार्ग चाँडो कार्यान्वयनमा आउने उहाँले आशा व्यक्त गर्नुभयो । चिनियाँ अर्थमन्त्री कुनले नेपालको विकासमा सहयोगी हुन चाहेको र सहयोगका परियोजना चाँडै कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे ।