नेपाल बेलायत सरकारबीच श्रम सम्झौता सोमबार हुने

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच श्रमिक आपूर्ति गर्न ६ भदौमा श्रम समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ। लामो समयदेखि चर्चामा रहेको बेलायत रोजगारी सरकारको सम्झौतासँगै खुल्ला हुन लागेको हो।

बेलायत सरकारले नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने प्रस्ताव गरेसँगै सरकारले चासो देखाएको थियो। नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

नेपाल र बेलायतबीच जी टू जी अर्थात सरकार–सरकारबीचको समझदारी मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने गरी सम्झौता गर्ने तयारी भएको श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिएपछि हस्ताक्षरको मिति तय भएको श्रम मन्त्रालयले जनाएको छ।केहीदिन अघि नेपालस्थित बेलायती दूतावासले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गर्दै भदौ ६ मा सम्झौताको मिति तय गरेको थियो।

बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस र नेशनल हेल्थ सर्भिसका प्रतिनिधि साथै काठमाडौंमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा भएको थियो।

सोही मस्यौदाअनुसार श्रम सम्झौताका लागि सबै आधार तय भएको उनले जानकारी दिए। गत साता नै मन्त्रिपरिषद्ले पनि बेलायतमा नर्स पठाउने गरी श्रम समझदारी गर्न स्वीकृति दिइसकेको छ।​