आजदेखि नेपाली रेल संचालनमा ल्याइँदै

काठमाडौं । धनुषाको इनर्वा स्टेशनमा राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । जयनगर–कुर्था रेलमार्गमा आज बिहान १० बजेदेखि रेल सञ्चालन हुने भएको हो ।

भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ ।

उद्घाटन नभएसम्मको लागि यात्रु विना नै रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । रेल कुद्ने भएपछि लिकमा हाटबजार लगाउन तथा आवतजावतमा रोक लगाइएको छ ।

रेलवे लिक क्रस गरी बनाइएको बाटो पनि बन्द गरिएको छ । जयनगरदेखि कुर्थासम्म ३६ किलोमिटरको रेलमार्ग छ । २०७७ साल असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका दुई सेट रेल नेपाल ल्याइएको हो ।

अहिले रेल धनुषाको इनर्वामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । रेलको प्राविधिक अवस्था बुझ्न विना यात्रु दैनिक रेल गुडाउन लागेको र कुनै प्राविधिक समस्या देखिए सुधार गर्ने महाप्रबन्धक झाले बताए ।

रेलको फागुनको दोस्रो हप्ता विधिवत् रुपमा उद्घाटन गर्ने तयारी छ ।