उपत्यकामा खानेपानीको विकल्प, ओभरहेड टयांकी


सुर्खेत । सुर्खेत उपत्यकामा खानेपानी विकल्पको रुपमा ओभरहेड टयांकी निर्माण गरिएको छ । वीरेन्द्रनगर १० भानपुरमा करिब एकहजार घरपरिवारका लागि एकहजार लिटर क्षमताको टयांकी निर्माण गरिएको हो ।

१ करोड ३८ लाख २० हजार ४ सय ९४ रुपैयाँ लागतमा पाँचवटा टोलका लागि खानेपानी विस्तार गर्न ओभरहेड टयांकी निर्माण गरिएको हो । वीरेन्द्रनगर १० को गणेशपुर, भानपुर, पदमपुर, बेलघारी र पशुपतीटोलमा खानेपानीको लाइन बिस्तार गरिने छ ।

ओभरहेड टयांकी निर्माणका लागि नेपाल नाजरेत सोसाईटिद्धारा सञ्चालित नवज्योती केन्द्रले सुर्खेतले समन्वय गरेको छ भने, एई.आई. एन लक्जम्बर्गले आर्थिक सहयोग गरेको हो । खानेपानीको पाइपलाइन बिस्तारका लागि सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले समन्वय गरेको छ ।

खानेपानी आयोजनाको जम्मा लागत मध्य सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले पाइपलाईन बिस्तारका लागि ४१ लाख ६० हजार ३ सय ४४, एई.आई. एन लक्जम्बर्गले टयांकी निर्माणका लागि ९१ लाख ६० हजार १ सय ५० रुपैयाँ खर्च गरेको नवज्योती केन्द्र सुर्खेतका निर्देशक सिस्टर रोसिटाले जानकारी दिईन् ।

उनका अनुसार एई.आई. एन लक्जम्बर्ग यु.एस.ए का कार्यकारी निर्देशक फ्राङकोइस वेनफिन्डले ५ लाख रुपैयाँ समेत प्रदान गरेकी छन् ।

उपभोक्ता समितीद्धारा निर्माण गरिएको उक्त ओभरहेड टयांकीको अनुगमनका लागि एई.आई. एन लक्जम्बर्गको टोली सोमबार वीरेन्द्रनगरमा आएको थियो । ओभरहेड टयांकी निर्माणको काम सकिएलगत्तै एई.आई. एन लक्जम्बर्गका नेपाल प्रतिनिधी रमेश तोयाना, एई.आई. एन लक्जम्बर्ग यु.एस.ए का कार्यकारी निर्देशक फ्राङकोइस वेनफिन्ड समेत सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदिले खानेपानी योजनालाई दिगो बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खानेपानीको समस्या समाधानको विकल्पको रुपमा निर्माण गरिएको ओभरहेड टयांकीले नागरिकका घर–घरमा पानीको सुविधा हुने विश्वास समेत गरे ।

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणी देवकोटाले टयांकी निर्माणको काम सकिएको भन्दै पाइपलाइनको काम तत्काल सुरु गर्ने बताए । उनले पाइपलाईन विस्तारका लागि सामाग्री समेत आईसकेको जानकारी दिए ।

वडा नम्बर १० का वडा अध्यक्ष रत्नबहादुर बुढाले सरकारले मात्रै केहि गर्न नसक्ने भएकोले दातृ निकायको सहयोग आवश्यक रहने बताए । उनले नागरिकको समस्या समाधानका लागि नवज्योती केन्द्रले गरेको पहल सहृानिय भएको सुनाए ।

कार्यक्रममा नवज्योती केन्द्र सुर्खेतकी निर्देशक सिस्टर रोसिटा लगाएत स्थानिय नागरिकको उपस्थिती रहेको थियो ।