तराई :  छठ पर्वको रौनक सुरु

तिहार सकिए लगत्तै तराई मधेसमा छठ पर्वको तयारी पनि सुरु भएको छ । तराई मधेसका बजारहरुमा अहिले छठ पूजा र पर्वका लागि चाहिने पुजन सामाग्री, बासका सामाग्री, माटाका भाडा, फलफूल, खाद्य सामग्री, नयाँ लुगाकपडा पसलहरुमा ग्राहकहरुको भीडभाड बढेको हो ।

दीपावली सकिए लगत्तै चार दिनपछि नै छठ सुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामाग्री बाँसको चोयाबाट बनाइएका छैठा (टोकरी), नाङलो र सुपली, माटोको कलश, ढकनी, कोशी दियो, फलफूल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भीडभाड देखिएको छ ।

मधेसको सबै भन्दा ठूलो पर्व छठमा नयाँ लुगाकपडा लगाउनु पर्ने चलन रहेकाले वीरगन्जका कपडा पसलहरुमा पनि ग्राहकहरुको घुइँचो लागेको छ।