काठमाण्डौ । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सबै सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बीआरएलएमएस, डीएमएस, सूचना व्यवस्थापन प्रणाली र क्यास एसएमएस अनलाइन प्रणालीको आज आइतवार उद्घाटन गरे ।
कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले विज्ञान प्रविधि क्षेत्र देशको समृद्धिसँग जोडिएको उल्लेख गर्दै विभागले सुरु गरेको अनलाइन सेवालाई प्रयोगकर्तामैत्री, समाज उपयोगी, प्रभावकारी, प्रेरणादायी, उदाहरणीय र सुरक्षित बनाउन निर्देशन दिए । सूचना र प्रविधि क्षेत्रको महत्त्वलाई बुझेर विदेशिएका युवालाई त्यस क्षेत्रमा आकर्षित गर्दै आईटिभित्र देशको भविष्य खोज्नुपर्ने उनको भनाइ छ ।
मन्त्री कार्कीले जलस्रोत, पर्यटन र व्यावसायिक कृषिमा जस्तै आईटीको क्षेत्रमा पनि स्वर्णीम भविष्य रहेको बताए । आईटीको क्षेत्रमा रहेको सम्भावनालाई आउँदा दिनमा व्यावहारिक रूपमै अवसरमा परिणत गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्ध बनाउने सरकारको लक्ष्यअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिए ।
विभागले अनलाइन सेवाअन्तर्गत सूचना व्यवस्थापन प्रणाली गएको वर्षदेखि सुरु गरेको थियो । चालु आर्थिक वर्षमा नौ सय २७ पत्रपत्रिका, ३८ टेलिभिजन, दुई सय ५१ रेडियो र एक हजार चार सय ९७ अनलाइनले दरबन्दी बुझाएको विभागले जनाएको छ । अहिलेसम्म प्रेस प्रतिनिधि प्रमाणपत्र लिने पत्रकारको सङ्ख्या ३१ हजार २५ रहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
चालु आवमा दुई हजार ९२ प्रेस पास वितरण गर्नुका साथै दुई हजार पाँच सय ५७ प्रेस पास नवीकरण गरिएको छ । त्यसैगरी चालु आवमा दर्ता ६ सय ६२ र नवीकरण ६ सय ७७ गरी अहिलेसम्म तीन हजार चार सय ६३ अनलाइन दर्ता भइसकेको महानिर्देशक हमालले जानकारी दिए ।


फरकबाटो १९ असार २०७९, आईतवार १७:४३