
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् बिस्तार गर्ने सन्दर्भमा श्रावण २६ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाहीलाई नियुक्त गरे ।
उनलाई मन्त्रीपदमा नियुक्त गरेपछि श्रावण २९ गते कर्णाली प्रदेशका प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनियताको सपथ ग्रहण समेत गराए ।
यता २०७८ फागुन १० गते अधिवक्ता शेरबहादुर खत्री र अधिकारकर्मी टिका विष्टले कर्णाली प्रदेशको मन्त्रिमण्डल असमावेशी भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट समेत दायर गरेका थिए ।
साथै कर्णाली प्रदेश सरकारले पटक–पटक गठन गर्ने मन्त्रिमण्डल असमावेशी भएको र संवैधानिक व्यवस्था विपरित भएको भन्दै परेका रिटहरुको सुनुवाई गर्दै उच्च अदालत सुर्खेतले २०७९ श्रावण २५ गते कर्णालीका मुख्यमन्त्री र प्रदेश प्रमुखलाई मन्त्रिमण्डल गठन गर्दा समावेशी सिद्धान्त बमोजिम भएनभएतर्फ संवेदनशिल भई आ–आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न गराउनको लागि ध्यानाकर्षण गराई सोही बमोजिमको अन्तिम आदेश समेत दिएको थियो ।
साथै यही श्रावण २६ गते मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश प्रमुख तिलक परियारको ध्यानाकृष्ट गराई आदेशको जानकारी पत्र पठाउँदा समेत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा वीरबहादुर शाहीलाई नै नियुक्त गरी सपथ ग्रहण गराईयो ।
तर उच्च अदालत सुर्खेतको आदेशलाई अवज्ञा, अपहेलना र लत्याउँदै कर्णाली प्रदेश सरकारले असमावेशी मन्त्रिमण्डल गठन गरेको थियो ।
यस विषयमा नागरिक अगुवाहरुले विरोध गरेका छन् । यसै सन्दर्भमा नेपाल बार एशोसियसन, एड्भोकेसी फोरम, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र नेपाल पत्रकार महासंघ सुर्खेत , महिला मानवअधिकार रक्षक सञ्जाल, दलित महिला संघ, सञ्चारिका समुह कर्णाली प्रदेश, ईन्सेक लगाएत मध्यपश्चिम विश्वविद्यालयका सहप्रध्यापक तथा अधिवक्ताहरुले कर्णाली प्रदेश सरकारले अदालतको आदेशलाई लत्याउन नहुने भन्दै कार्यान्वयन गर्न अनुरोध गरेका छन् ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै नागरिक समाजका अगुवाहरुले अदालतको आदेशको पालना नगरी असमावेशी तरिकाले नियुक्त गरिएका मन्त्रीबाट यथास्थितीमा काम गरेगराएमा आगमाी दिनमा नागरिक समाजको तर्फबाट थप दबाबमुलक कार्यक्रम गर्नुका साथै आवश्यक कानुनी उपचारको बाटोमा जाने बताएका हुन् ।
अधिवक्ता तथा नेपाल बार एशोसियसन कर्णालीका उपाअध्यक्ष उत्तम प्रसाद आचार्यले अदालतको आदेशलाई सरकारले पालना गर्नुपर्ने बताए ।

फरकबाटो ३१ श्रावण २०७९, मंगलवार १६:५१