भ्रष्ट्राचार आँफुपनि गर्दिन अरुलाईपनि गर्न दिन्न

स्थानिय तह नजिकको सरकार हो । संवैधानिक अधिकारको कार्यान्वयन गर्ने कुरामा स्थानिय तह नागरिकका लागि नजिक मानिन्छ । सबै स्थानिय तहहरुले एकवर्षको लागि बजेट तथा कार्यक्रम समेत ल्याईसकेका छन् । यसै सन्दर्भमा वीरेन्द्रनगर नगरपालिका १२ सुर्खेतले कस्ता योजना तथा कार्यक्रम ल्याएको छ ? बजेट कार्यान्वयनको कस्तो तयारी छ भन्ने विषयमा हाम्रा सहकर्मी ललिता विश्वकर्मा ओडले वडा अध्यक्ष चुडामणी चपाईसंग गरेको कुराकानी :

आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?

हिजोआज बर्षाको समय छ । विपद् व्यवस्थापनको काम भइरहेको छ । अब भदौमहिनाको १ गतेदेखि योजना बनाउने काम सुरु हुँदै छ । साथै वडाबाट दैनिकरुपमा दिइने सेवाको कार्यमा व्यस्त छु ।

भर्खरै नेतृत्वमा आउनु भएको छ । वडा बासिसंग खुसी बाँड्न जानु भयो त ?

राजनीति गर्नु भनेको जनताको सेवा गर्नु हो । चुनाव जित्नलाई मात्र जनता आफ्नो र जितिसकेपछि अरूको भन्ने हुँदैन । म चुनाव जित्नु पहिला पनि जनताको घर दैलो गरेको छु । चुनाव जितेपछिका दिनदेखि अहिले सम्म जनता संग सुख दुःख बाँड्न गइरहेको छु । दैनिक वडाबाट नागरिकलाई दिनुपर्ने सेवामा कमी भएको छैन । नागरिकका घरमा जानुभन्दा पनि नागरिकको घरसम्म सेवा पुग्न सके त्यो नै संवैधानिक अधिकारको प्रत्याभुती हो ।

तपाईंलाई नागरिक विश्वास गरेर जिताएका छन् । नागरिकको समस्यालाई बुझ्नु भएको छ त ?

म २०७४ सालको स्थानिय तहको निर्वाचनमा समेत वडा सदस्य भएको नाताले वीरेन्द्रनगर नगरपालिका १२ का नागरिकको समस्या बुझ्दै आएको छु । अझै बुझ्ने मौका पनि पाएको छु । यस वडाको विशेष समस्या भनेको सुकुम्बासी समस्या हो । साथै खानेपानी , फोहोर मैला ,पशु चौपाय, पूर्वाधार र विद्युतको समस्या छ । अन्य भैपरी आउने समस्या समाधान र नागरिकको मुख्य पहिचान गरिएका समस्याहरु समाधानका लागि लागिरहेको छु ।

नागरिकका समस्या समाधानका लागि के योजना बनाउनु भएको छ ?

वडा को बजेट जम्मा १ करोड ६० लाख छ । ६५ प्रतिशत पूर्वाधार निर्माण को लागि छु्टयाइएको छ । ३५ प्रतिशत विभिन्न अरु खानेपानी, शिक्षा, स्वास्थ्य, महिला लक्षित कार्यक्रमका छुट्याइएको छ । तीन तहको सरकारसंग समन्वय गरेर सम्पूर्ण टोल अध्यक्षहरु, राजनैतिक दल, संघ संस्थाहरुसंग समस्या समाधानको लागि कसरी काम गर्न सकिन्छ ? भनेर समन्वय सहकार्य गरेर सहजीकरणको बाटो तिर जोडिएको छु । वडामा जति बजेट छ, त्यतिनै वडाको लागि सही सदुपयोग गरेर समस्या समाधानका बाटोतिर लाग्ने छु ।

खानेपानीको समस्या समाधानका लागि यस वडामा ४ वटा बोरिङ बाट पानी निकाल्ने साना–साना मूलको संरक्षण गर्ने, इनार खन्ने योजना छ । प्रदेश सरकारबाट चारवटा डीबबोरिङ योजना आएका छन् । सरस्वती टोलमा ३ लाख घन मिटरकामा पुन पानी खसालेर पानी सुचारु गर्ने छ ।

सुकुम्बासी समस्या र विद्युतको समस्या समाधानका लागि के काम गर्ने सोच बनाउनु भएको छ ?

सुकुम्बासीको कुरा वडाले चाहेर मात्र नहुने रहेछ । विगतमा अभिलेख गर्ने काममा आफै थिएं । त्यसको लागी एउटा दस्तावेज बनायौ । त्यसलाई कार्यान्वयन गर्ने कुरामा अभिलेख बनाएपछि समिति हुन्छ, प्रविधिक आउनु पर्यो, प्रत्येकको जग्गाको नापी गर्नु पर्यो । १४ सय घर धुरीका लागि एउटा प्राविधिकले वर्षौ लाग्ने हुँदा अलि धेरै प्राविधिक हायर गरेर मंसिर बाट जग्गा लालपुर्जा र लगत दिने कुरा नगरपालिकाले गरेको छ ।

बाटोहरुमा विद्युतका पोलहरु पहिले नैं विद्युतीकरण भएको छ । बस्तीको चाप दिनानुदिन बढ्ने र नयाँ–नयाँ योजना बनाएर काम गरिएको छ । अस्थाई बसोबास गरेको ठाउँमा पानीको समस्या , विद्युतको समस्या बाटोघाटोको समस्या भएर ठूलो चुनौती भएको छ । विद्युत आपूर्तिको लागि वीरेन्द्रनगर नगरपालिकासंग समन्वय गरेर दिगोपनका लागि भोल्टेज बढाउने गरी अगाडि बढेका छौं ।

अबको छ महिना भित्र के काम गर्नुहुन्छ ?

भदौ एक गते देखि योजना बनाउने स्टमेट बनाउने र कतिपय टेण्डर बाट काम गर्नु पर्ने काम छन् । कतिपय काम उपभोक्ता समितिबाट गर्नु पर्ने छ । तिनीहरूबाट योजना बनाउने काम गर्ने भन्ने छ । पछिल्लो समयमा खोला बाट गिट्टी बालुवा निकाल्न नसकिने भएकाले पूर्वाधारका काम गर्न नसकिने अवस्था छ । सबैले देखिने गरी कामले पूर्णता पाउने छ । दैनिक गरिने वडा स्तरका काम संगसगै अरु काम गर्ने छौं ।

बजेटमा के कुरालाई प्राथमिकता दिनु भएको छ नी ?

पहिलो प्राथमिकता भनेको पूर्वाधारको छ । साथै खानेपानी फोहोर व्यवस्थापन, पशु चौपाया, शिक्षा, स्वास्थ्य , सुकुम्बासी समस्या समाधानका लागि र महिला, विपन्न वर्ग, अपाङ्ग, बालबालिकाका लागि लक्षित कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट छुट्याएका छौं ।

अबको पाँच वर्षको तपाईंको योजना के छ ?

स्थानिय सरकार सञ्चारन ऐन २०७४ मा टेकेर काम गर्ने छु । मेरो पाँच वर्षको योजना भनेको विशेष पूर्वाधारलाई ध्यानमा दिएको छु । शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन, विभिन्न किसिमका वडामा हुने दैनिकी काम र वडा बासिको समस्या समाधानको लागि दिनहुँ खटिरहेने छु । यो पाँच वर्षमा परिवर्तनको महशुस हुने गरी काम गर्ने छौं । वडाका बाटाहरू कुनै पनि कालोपत्रे विहिन हुने छैनन् । वडा बासीहरुले आफ्नो वडालाई स्वर्ग महशुस गर्नुहुने छ ।

अन्तिममा के भन्न चाहनुहुन्छ ?

सरकारले विभिन्न शिर्षकमा नागरिकलाई दिएको सरकारी बजेट छ । त्यसको पारदर्शी गर्ने कुरामा नागरिकको दायित्व हो । म आफै भ्रष्ट्राचार बिरुद्द खरो उत्रेको छु । सुशासन र पादर्शीता र जवाफदेहिता सरकारको धर्म हो । आफ्नो वडामा आएको पैसा के भइरहेको छ, कसरी चलिरहेको छ ? भन्ने कुरालाई नागरिकले समेत खबरदारी गर्नुपर्छ ।

मेरो वडाबासीहरुले मलाई र मेरो वडालाई खबरदारी गर्नुहोला । बिग्रिँदा टीकाटिप्पणी गर्ने र राम्रो हुँदा राम्रो टिप्पणी नगर्ने प्रचलन छ । यो प्रचलन रोकिनु पर्छ ।