प्रभाकर शनिबार नेपाल आईपुग्ने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार नेपाल आईपुग्ने भएका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले मुख्य प्रशिक्षक प्रभाकर शनिबार नेपाल आईपुग्ने जानकारी दिए ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केहि साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । क्यानले प्रभाकरसँग एक वर्षे सम्झौता गरेको पनि जनाएको छ ।

‘नयाँ जिम्मेवारीका साथ प्रभाकर शनिबार नेपाल आउनुहुन्छ,’ मल्लले खेलपाटीलाई भने, ‘उहाँ नेपाल आउने सम्पूर्ण तयारी भईसकेको छ ।’

नेपालको मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्धको रहने छ ।

नेपाली टोली भदौ पहिलो सातामा केन्या भ्रमणका लागि निस्कदै छ ।

केन्यामा रहँदा नेपालले ५ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ । केन्याको राष्ट्रिय टिमसँग नेपालको ३ खेलको ५० ओभरको अभ्यास सिरिज पनि रहेको छ ।

भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

उनले अफगानिस्तानको बलिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । उनले रणजी ट्रफी टिम दिल्लीसँगै राजस्थान र युपी क्रिकेट एसोसियनको प्रशिक्षक भएर काम गरिसकेका छन्।