यू-१७ : बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट

काठमाडौं । यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार यू-१७ को बन्द प्रशिक्षणमा ४५ खेलाडीलाई डाकिएको जनाएको छ । यस अघि एन्फाले देशभरका खेलाडीबाट छनोट गर्दै पहिलो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।

यू-१७ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठले ६० खेलाडीबाट बन्द प्रशिक्षणमा ४५ खेलाडी छनोट गरेका हुन् । एन्फाले साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका लागि  खेलाडीलाई बन्द प्रशिक्षणमा राख्न लागेको हो ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ  । नेपालको समूहमा भारत र भुटान रहेको छ ।  यस्तै समूह ‘ए’ मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।

श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ । यस्तै भियतनाममा हुने यू-१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुनेछ ।