सुन्दर नेपाल संस्थाको अध्यक्षमा : भुसाल

सुर्खेत । सुन्दर नेपाल संस्थाको अध्यक्षमा हेमप्रकाश भुसाल चयन भएका छन् । संस्थाको २५ औं चुनाबी साधारण सभाबाट भुसाल सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् ।

साधारण सभाबाट उपाअध्यक्षमा पुर्णा सापकोटा, सचिवमा हिरामणि पौडेल, सह–सचिवमा प्रेमराज पाठक, कोषाअध्यक्षमा माया लामिछाने चयन भएका हुन् । आठ सदस्यीय कार्यसमितीको सदस्यहरुमा उमा भट्टराई, लिला गुरुङ र ललित सारु चयन भएका छन् ।

साधारण सभाको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै कर्णाली प्रदेश योजना आयोगका उपाअध्यक्ष डा. सर्बराज खड्काले सरकारलाई सहि बाटोमा हिडाउनमा गैरसरकारी संस्थाहरुको ठुलो भुमीका हुने बताए । उनले सरकार नपुगेको ठाउँमा गैरसरकारी संस्थाहरु पुगि नागरिकहरुलाई सुसुचित गराएको सुनाए ।

संविधानको भावना अनुरुप सुन्दर नेपाल संस्थाले सिमान्तकृत समुदाय लक्षित कार्यक्रम सञ्चालन गरेको भन्दै संस्थाको थप प्रगतीको कामना समेत खड्काले गरे ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख सल्लाहकार डा. बुद्धिप्रसाद सापकोटाले लामो समयदेखी सुन्दर नेपाल संस्थाले तल्लो स्तरको समुदायसंग काम गरेको भन्दै अझै पनि समुदायका समस्या पहिचान गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा कुल आम्दानी ५ करोड ८२ लाख ५९ हजार ४ सय ४० रुपैयाँ गरेको थियो भने ५ करोड ७२ लाख ६१ हजार ६ सय ९८ रुपैयाँ खर्च गरेको हो ।

संस्थाले कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । भकारी, स्वास्थ्य नगरका लागि सरसफाई कार्यक्रम, मध्यवर्तीक्षेत्रमा जिविकोपार्जन, लगाएतका १५ बढि कार्यक्रमहरु विभिन्न जिल्लाहरुमा सञ्चालन गरिरहेको संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलले जानकारी दिए ।

संस्थाले रजत जयन्तीका अवसरमा संस्थापक पदाधिकारीहरुलाई सम्मान गरेको थियो । साथै उत्कृष्ट काम गरेबापत् कर्मचारी टिकाराम आचार्यलाई वेस्ट स्टाफ अवार्ड दिइएको हो ।