निर्वाचनका बेला हुने आचारसंहिता उलंघन विरुद्ध आयोग अँझै कडाइका साथ लाग्छ : आयुक्त तुलाधर

सुर्खेत । आगामी १७ गते देखी मंसिर १ गतेसम्म राजनिनितक दलहरुले प्रचारप्रसारका कार्यक्रमहरु गर्नेगरी निर्वाचन आयोगले सुचना प्रकाशन गरिसकेको छ । यो समयमा अँझै आचारसंहिता उलंघनका क्रियाकलापहरु बढ्ने भएकोले यो बेलामा निर्वाचन आयोग अँझै कडाइका साथ लाग्ने निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले बताएकी छन् ।

निर्वाचनलाई भयरहित, निष्पक्षरुपमा सम्पन्न गर्ने आयोगको लक्ष्य रहेको समेत उनले बताइन् । आयोगले बनाउने रणनितिक योजना, निर्देशिका र कार्यविधिले समन्वय र सहकार्यलाई समेत जोड दिएको भन्दै डा. तुलाधरले मतदाताको जागरण र आचारसंहिताको पालनाको कुरामा समेत जानकारी गराइरहेको बताईन् । सञ्चारमाध्यम र सञ्चारकर्मीहरुबिना आयोग अधुरो रहेको समेत उनले जिकिर गरिन् ।

मिडियाले दिने सुचना सहि र तथ्यपरक भएमात्रै नागरिकहरुको बुझाई सहि हुने भन्दै उनले एकपटक हेरेर मात्रै समाचार प्रकाशन गर्न पत्रकारहरुलाई आग्रह गरिन् । आयोग सुचना मैत्री भएको र जतीबेलापनि ११०२ मा फोन गरेर सुझाव दिन सबैलाई उनले आग्रह गरिन् ।

निर्वाचन आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको प्र्रदेशस्तरीय मिडिया अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद अर्यालले आचारसंहिताका बारे सुसुचित गर्न सञ्चारमाध्यमहरुलाई आग्रह गरे । मिडियाले समेत तथ्यलाई तलमाथी पारेको हुनसक्ने भन्दै सुचनाप्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका निमित्त सचिव आनन्द सारुले राज्य सञ्चालन प्रणालीलाई बलियो बनाउनका लागि निर्वाचनले ठुलो महत्व राख्ने बताए ।

यस्तै  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबै राजनितिक दलहरुले कर्तव्य बोधगरेर निर्वाचन आयोगद्धारा जारी भएको आचारसंहितालाई पुर्ण रुपमा कार्यान्वयन गरेको खण्डमा निर्वाचन सहज हुने उनले बताए ।

कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले मिथ्या सुचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति रोकथाम र नियन्त्रणका विषयमा प्रस्तुतीकरण गरेको थिए ।

कार्यक्रममा कर्णाली प्रदेशका करिब ४० जना पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रम राष्ट्रिय समाचार समितिले समन्व्य गरेको थियो ।