सुर्खेत । मुगुमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् भने चार जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा रुघाका ३५ वर्षीय लोकेन्द्र लावड रहेका छन् ।

कर्णाली नदीबाट बालुवा लोड गरेर बामतर्फ जाँदै गरेको लु ४ त ७७६२ नम्बरको ट्याक्टर आज (आइतवार) अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खसेको थियो ।
गम्भीर घाइते हुनेमा रुघा १३ बस्ने १८ वर्षका जय लवण रहेका छन् । सामान्य घाइते हुनेमा सोही स्थान बस्ने २१ वर्षका सुन्दर लावण, ९ वर्षका मङ्गल लावण, ६ वर्षका प्रविन लावण र ८ वर्षका मन्त्री लावण रहेको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता एस.एस.पी माधव श्रेष्ठले जानकारी दिए । श्रेष्ठले दुर्घटनापछि फरार रहेका चालकको खोजी भइरहेको बताए ।
त्यस्तै, कन्कासुन्दरी गाउँपालिका १ बुलबुले नजिक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट मुगु तर्फ जादैँ गरेको लु १ ज ३७५४ को जीप मोडमा व्याक भै सडकको भित्तामा ठोकिदा छायाँनाथ रारा न.पा २ बस्ने अन्दाजी २४ वर्षका दिपक तिरुवाको घटना स्थलमै मृत्यु भएको हो । कनकासुन्दरी गाउँपालिका १ नेटाका २३ वर्षीय दल बहादुर बुढा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रवक्ता एस.एस.पी माधव श्रेष्ठले बताए । प्रहरीका अनुसार उक्त जीपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको छ ।

फरकबाटो १५ श्रावण २०७९, आईतवार १६:२७